१७ असार तेह्रथुमः जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नवनियुक्त अध्यक्ष राजकुमार नेपालले पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार सदरमुकाम म्याङलुङ स्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा नव नियुक्त अध्यक्ष नेपालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त अध्यक्ष नेपालले तेह्रथुम जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासको लागि निष्ठापूर्वक र इमानदारपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफे, जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की, म्याङलुङ नगरपालिकाका उपप्रमुख जमुना कार्की सुवेदी, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद आचार्य, उद्योग वाणिज्य संघ अध्यक्ष तारा श्रेष्ठ लगायतले अध्यक्ष नेपाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको जिल्ला खेलकुद विकास समिति तेह्रथुमका कार्यालय प्रमुख किशोर सम्बाहाङ्फेले बताउनुभयो ।
नेपाललाई कोशी प्रदेश खेलकुद विकास बोर्डले असार ११ गते जिल्ला खेलकुद विकास समिति तेह्रथुमको अध्यक्षमा नियुक्त गरेको थियो । बोर्डले तेह्रथुममा नेपाल सहित कोशी प्रदेशका १२ वटा जिल्लामा एकैपटक अध्यक्ष नियुक्त गरेको थियो ।