June 27, 2026

मलेसियामा कार्यरत लिम्बू दम्पतीद्वारा विद्यार्थीलाई रु तीन लाखभन्दा बढीको सहयोग

१३ असार तेह्रथुमः म्याङलुङ नगरपालिका–५ आम्फुवा माझगाउँ स्थायी घर भइ हाल मलेसियामा कार्यरत हर्क थेगुवा लिम्बू र उहाँकी श्रीमती बबिता राई लिम्बूले पाँचथरको फिदिम नगरपालिका–४ सालघारीस्थित श्री जागृति आधारभूत विद्यालयका विद्यार्थीलाई रु तीन लाखभन्दा बढी बराबरको शैक्षिक सामग्री, लत्ताकपडा तथा भोजन सहयोग गर्नुभएको छ ।
लिम्बू दम्पतीले विद्यालयलाई करिब रु दुई लाख ३० हजार बराबरका लत्ताकपडा र स्टेशनरी सामग्री उपलब्ध गराउनुभएको विद्यालयका प्रधानाध्यापक डिल्ली लुइटेलले जानकारी दिनुभयो ।

साथै रु ७० हजार नगद सहयोगबाट विद्यार्थीका लागि भोजनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँहरूले प्रदान गर्नुभएको शैक्षिक सामग्री फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्ले र फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लाओतीले  विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई वितरण गरिएको सहयोगदाता परिवारका तर्फबाट ऋतुराज लिम्बूले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख काफ्लेले अनाथ, असहाय तथा विपन्न विद्यार्थीको शिक्षामा सहयोग पुर्याएको भन्दै लिम्बू दम्पतीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कक्षा ८ सम्म अध्ययन विद्यालयमा ५१ जना अनाथ तथा असहाय बालबालिका आवासीय रूपमा अध्ययनरत छन् । सहयोग कार्यक्रमबाट विद्यालयका २४९ जना विद्यार्थी लाभान्वित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर तामाङले बताउनुभयो ।

सहयोगदाता हर्क लिम्बूले आर्थिक अभावका कारण विद्यार्थीले बीचमै पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयका विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। शैक्षिक सामग्री, विद्यालय पोसाक, ट्र्याकसुट तथा भोजन प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित भएका थिए।

 

Ads

Ad

Ad

Copyright Reserved by NepBrand