समाजसेवी राधिका पोख्रेलद्वारा किरात समाजसेवालाई आठ आना जग्गा निःशुल्क प्रदान
तेह्रथुम, १५ जेठ : समाजसेवी राधिका पोख्रेलले किरात समाजसेवा जिल्ला कार्यसमिति तेह्रथुमलाई भवन निर्माणका लागि आठ आना जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । विसं २०७३ देखि जिल्लामा दर्ता भई सामाजिक क्षेत्रमा सक्रिय रहे पनि संस्थाको आफ्नै भवन नभएकाले समाजसेवी पोख्रेलले म्याङलुङ नगरपालिका–२ स्थित कित्ता नम्बर १०७८ को जग्गा दान गर्नुभएको हो ।
संस्थाका अध्यक्ष टटबहादुर लिम्बू पन्धाकले आफ्नै भवन नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको अवस्थामा पोख्रेलको यो सहयोगले ठूलो राहत मिलेको बताउनुभयो । प्राप्त जग्गामा अब कार्यालय सञ्चालनका लागि भवन निर्माण गरिने समितिका सचिव कमलादेवि लिम्बूले जानकारी दिनुभयो ।
जिल्लामा ज्येष्ठ नागरिक, एकल महिला सम्मान तथा गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति जस्ता कार्य गर्दै आएको यस संस्थाले समाजमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान समेत गर्दै आएको कोषाध्यक्ष भिम बहादुर थाम्देन लिम्बूले बताउनुभयो ।