१ माघ तेह्रथमः ११ औँ राष्ट्रिय योग दिवस २०८२ का अवसरमा सदरमुकाम म्याङलुङमा संयुक्त रूपमा एक कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको छ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुम, जीवन विज्ञान योग ध्यान केन्द्र तेह्रथुम, पतञ्जलि योग समिति तेह्रथुम, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र म्याङलुङ तेह्रथुम, सत्य साई केन्द्र तेह्रथुमको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूका लागि निःशुल्क रक्तचाप (प्रेसर) तथा सुगर परीक्षण सेवा प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले योग दैनिक जीवनमा समेटिनु पर्ने महत्वपूर्ण विषय भए पनि पछिल्लो समय यसतर्फ पछि परेको उल्लेख गर्दै योग, ध्यान तथा अध्यात्ममा आधारित संस्थाहरूलाई यसतर्फ थप सक्रिय हुन ध्यानाकर्षण गराउनुभयो। उहाँले योग प्रवद्र्धनमा आफू स्वयं पनि जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दिवसका अवसरमा जीवन विज्ञान योग ध्यान केन्द्रका प्रशिक्षक इन्दिरा लिम्बुले सहभागीहरूलाई योगाभ्यास गराउनुभयो।
“स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरुले सहभागिता जनाएका छन्।