२७ पुष २०८२, तेह्रथुम । जन्मेको नौ दिनमै आमाको काख गुमाएका जुलन तिरूवाले आफ्नो जीवनका पीडालाई प्रेरणामा बदल्दै जन्मदिनकै दिन उल्लेखनीय सफलता हासिल गरेका छन्।
श्री त्रिमोहन माध्यमिक विद्यालय, सक्रान्तिबजारका विद्यार्थी जुलन तिरूवा २०६६ साल पुस २७ गते आठराई गाउँपालिका–७, थोक्लुङमा जन्मिएका हुन्। आमाको असामयिक निधनपछि कठिन परिस्थितिमा हुर्किएका जुलनले खेलकुदमार्फत आफूलाई स्थापित गर्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
आठराई गाउँपालिकाको चुहानडाँडास्थित शारदा माध्यमिक विद्यालयमा पुस २५ गतेदेखि सञ्चालन भइरहेको आठौँ आठराई गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र १५ सय मिटर दौडमा जुलनले आठ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरे। यस जितसँगै उनले आफ्नो विद्यालय श्री त्रिमोहन माध्यमिक विद्यालयलाई स्वर्ण पदक दिलाए।
जन्मदिनकै दिन प्राप्त यस सफलतासँगै जुलन जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका छन्। दौड विधामा विशेष रुचि राख्ने उनी पुस २८ गते हुने छात्र ३ हजार मिटर दौडमा पनि सहभागिता जनाउने छन्।
संघर्ष, निरन्तर मेहनत र आत्मविश्वासको बलमा प्राप्त जुलन तिरूवाको यो उपलब्धिले आठराई क्षेत्रसहित सम्पूर्ण तेह्रथुम जिल्लामा सकारात्मक सन्देश दिएको छ।