January 11, 2026

गोर्खा पिस फाउण्डेसनद्वारा सिवाईसी फिटनेस सेन्टरलाई फिटनेस सामग्री हस्तान्तरण

२७ पुष २०८२, तेह्रथुम । चौतारी युवा क्लबद्वारा म्याङलुङ बजारमा सञ्चालनमा रहेको सिवाईसी फिटनेस सेन्टरलाई गोर्खा पिस फाउण्डेसन (युके) ले फिटनेस सामग्री हस्तान्तरण गरेको छ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा चौतारी युवा क्लबका सचिव सन्तोष निङ्लेकुको अध्यक्षतामा गोर्खा पिस फाउण्डेसनका अध्यक्ष भीमराज तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि तुम्बाहाङ्फेले करिब एक लाख पचास हजार रुपैयाँ बराबरका फिटनेस सामग्री क्लबका सचिव सन्तोष निङ्लेकुलाई हस्तान्तरण गरे।

यसअघि पनि गोर्खा पिस फाउण्डेसनले चौतारी युवा क्लबलाई करिब चार लाख रुपैयाँ बराबरका फिटनेस सामग्री सहयोग प्रदान गरिसकेको जनाएको छ।

कार्यक्रममा क्लबका कोषाध्यक्ष सुभाष तेयुङले युवाहरूलाई कुलतबाट टाढा राखी स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले फिटनेस सेन्टर सञ्चालन गरिएको बताए। उनले यस्ता सहयोगले युवाहरूमा सकारात्मक ऊर्जा र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि किरात याक्थुङ चुम्लुङ अस्ट्रेलियाका उपाध्यक्ष चित्र तुम्बाहाङ्फेले फिटनेस सेन्टरको निरन्तर सफलता तथा दीर्घकालीन प्रभावको कामना गर्दै शुभकामना व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा चौतारी युवा क्लबका सचिव सन्तोष निङ्लेकुले उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै गोर्खा पिस फाउण्डेसन र सहयोगदाताप्रति आभार व्यक्त गरे।

Ads

Ad

Copyright Reserved by NepBrand