May 24, 2026

तेह्रथुममा ‘शिक्षामा प्रविधिको प्रयोग’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न

१० जेठ, तेह्रथुम — सदरमुकाम म्याङलुङस्थित म्याङलुङ क्याम्पस तेह्रथुममा ‘शिक्षामा प्रविधिको प्रयोग’ विषयक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग (युजिसी) नेपालको आर्थिक सहयोगमा म्याङलुङ क्याम्पसको आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन भएको सम्मेलन शिक्षण–सिकाइ क्रियाकलापलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको क्याम्पस प्रमुख प्रकाश ढुंगानाले बताउनुभयो । उहाँका अनुसार शिक्षा क्षेत्रमा प्रविधिको प्रभावकारी प्रयोग, नवीन अभ्यास, चुनौती र सम्भावनाका विषयमा सम्मेलनमा छलफल गरिएको छ ।
सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायत नौ वटा विश्वविद्यालय अन्तर्गतका १७ क्याम्पसका प्राध्यापक, उपप्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको छ ।

अबको शिक्षा प्रविधिविना अधुरो हुने भएकाले यस सम्मेलनले शिक्षालाई प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बरुण बहुमुखी क्याम्पस का प्रमुख चित्ररेखा अधिकारीले बताउनुभयो । सम्मेलनमा प्रस्तुत गरिएका विषयवस्तुहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा शिक्षण–सिकाइ प्रक्रियामा प्रयोग गरिने उहाँको भनाइ छ ।
अनलाइन शिक्षा, डिजिटल सामग्री, भर्चुअल लर्निङ तथा अनुसन्धानमा प्रविधिको प्रयोगले शिक्षा क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गरिरहेको अवस्थामा राष्ट्रिय स्तरका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता तथा सहभागीहरूबीच शिक्षामा प्रविधिको प्रभावकारी प्रयोगबारे छलफल तथा प्रस्तुती गरिएको पब्लिक क्याम्पस संघ कोशी प्रदेश का अध्यक्ष तथा सुकुना बहुमुखी क्याम्पस का प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा यस स्तरको बौद्धिक छलफल पहिलो पटक आयोजना गरिएको हो । सम्मेलनमा प्रस्तुत विषयवस्तुबाट प्राप्त निष्कर्ष समेटिएको प्रतिवेदन पुस्तिका समेत तयार गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमा मुख्य वक्ताका रूपमा मधेस विश्वविद्यालय का डिन प्रोफेसर अञ्जय कुमार मिश्र, अर्थशास्त्री डाक्टर शीला मिश्र तथा डाक्टर तोलानाथ काफ्ले रहनुभएको थियो ।

Ads

Ad

Ad

Copyright Reserved by NepBrand