May 17, 2026

बाँदर धपाउन जुटे स्थानीयसँगै जनप्रतिनिधि र कर्मचारी

२ जेष्ठ तेह्रथुमः थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु एकैसाथ कहाँ भेटिन्छन् ? उत्तर सहज छ पालिका वा कार्यालयमा । या त कुनै विशेष समारोह, कार्यक्रम वा प्रशासनीक काममा । तर तीनै जनप्रतिनिधि र कर्मचारी एकसाथ हातमा ग्याँटिस र गुलेली बोकेर जंगलमा भेट्नुभयो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै पनि आश्चर्य लाग्न सक्छ !
तेह्रथुमको लालीगुराँस नगरपालिकामा जेठ १ र २ गते यस्तै आश्चर्य लाग्ने दृश्य देखियो । नगरपालिकाभरीका जंगलहरुमा नगरपालिका र वडाका जनप्रतिनिधि र कर्मचारीहरु स्थानीयको साथमा ग्याटिस र गुलेली बोकेर हाई .. हाई .. र हुई .. हुई .. गरिरहेका देखियो ।
आखिर लालीगुँरास नगरपालिकामा त्यस्तो के प¥यो त ? जसको लागि पालिकाका जनप्रतिनिधि र कर्मचारी कार्यालय नै बन्द गरेर स्थानीय सँगै ग्याटिस र गुलेली बोकेर जंगल पस्नुप¥यो ? बाँदरका कारण किसान आजित भएपछि बाँदर लखेट्न पर्ने भएर बालबालिकाहरु विद्यालय जानबाटै वञ्चित हुन थालेपछि भने बाँदर धपाउन आफूहरु जंगल आउनुपरेको लालीगुँरास नगरपालिकाका लेखा अधिकृत सविना श्रेष्ठले बताउनुभयो । कार्यालयको कुर्सीबाट सेवा प्रदान गर्नुपर्नेमा यसरी जंगलमा आएर किसान र बालबालिकाहरुलाई सहयोग गर्नुपाउँदा आफूलाई खुसी लागेको र जंगलका भिर पाखामा हिन्दा भने अलि गाह्रो समेत भएको उहाँले सुनाउनुभयो ।
बाँदर समस्या तेह्रथुमवासीको निक्कै पुरानो पीडा हो । जिल्लामा बसाइँसराइको दर बढ्नुमा बाँदरको गतिविधिले निम्त्याएको समस्या पनि एक प्रमुख कारण हो । कृषकले दुःख गरेर लगाएका बालीनाली बाँदरले सखाप पारिदिँदा जिल्लाका किसान ठूलो समस्यामा परेका छन् । बाँदर समस्या कृषकहरुले थेग्नै नसक्ने अवस्थामा पुगेपछि बाँदरबाट अन्नबाली जोगाउनकै लागि बालबालिकाहरु नियमित विद्यालय जानबाट समेत बञ्चित हुन थालेका छन् । तत्कालका लागि विकल्प केही नभएकाले नगरवासी किसानहरुको समस्यामा मल्हमपट्टी गर्न आफूहरु प्रशासनिक काम छाडेर बाँदर धपाउन जंगल पस्नुपरेको लालीगुँरास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन कार्कीले बताउनुभयो ।
किसानले खेतबारीमा लगाएका विभिन्न प्रकारका बालीनाली टुसा पलाएदेखि पाकेर थन्काउने समयसम्म बाँदरबाट जोगाउन युद्ध जीते जस्तै हुने गरेको छ । बालीनाली स्याहार्नुभन्दा बाँदर रुँग्न गाह्रो हुने किसानहरुको भनाई छ । किसानको लगानी, मिहिनेत र परिश्रम बाँदरले एकैछाक पारिदिँदा आफूहरु हाँस्नु न रुनुको अवस्थामा पुगेको लालिगुँरास नपा–३ मुसाङखेलका हरीमाया बाँनियाले बताउनुभयो । बाँदर घरघरमै आउने, घरको बाल्दरीमा राखेका मकैका झुत्तै लाने अझ आइमाई, केटाकेटीलाई नपत्याउने, कुट्न आउने भएर बाँदर देखि आजित भएको उहाँले बताउनुभयो ।
बाँदर समस्या न्यूनिकरणका लागि लालीगुराँस नगरपालिका छुट्टै कार्यक्रम बनाउन बाध्य भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत बजेट, नीति तथा कार्यक्रममा मार्फत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रम अघि बढाएको छ । नगरपालिकाले वडा नं ८ को मेघा पुच्छार, वडा नं ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नं ५ को सिङ्थापा पुच्छार क्षेत्रमा अस्थायी संरचनासहित बाँदर हेरालु नै खटाइसकेको छ ।
नगरपालिकाले बाँदर लखेट्ने अभियान प्रभावकारी बनाउन ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने जनाउँदै जेठ एक गते शुक्रबार सार्वजनिक बिदा नै दिएर बाँदर लखेटेको छ । जसमा बाँदरको गतिविधिबाट पीडित स्थानीय किसान सँगै पालिकाका जनप्रतिनिधि र कर्मचारी समेत सहभागि भए ।
राष्ट्रिय स्तरमै दीर्घकालीन समस्या समाधान आवश्यक भए पनि तत्कालका लागि स्थानीय तहले आफ्नै स्रोतसाधन प्रयोग गरेर किसानहरुको राहतका लागि प्रयास थालेको लालीगुराँस नगरपालिकाका नगरप्रमुख अर्जुन माबुहाङले बताउनुभयो ।
बढ्दो बाँदर आतंकलाई रोक्न तत्कालका लागि लालीगुँरास नगरपालिकाले यो उपाय अपनाए पनि यसको दीर्घकालीन समाधानका उपायहरुको खोजी गर्न आवस्यक देखिन्छ । बाँदरका गतिविधिका कारण पीडित बन्न पुगेका अर्का किसान गोपाल बाँनियाले सरकारले बाँदर मार्न पाइने नीति ल्याए हुन्थ्यो भन्ने आसय समेत व्यक्त गरे ।
यद्यपी ! जंगली जनावर बाँदर पारिस्थितिक प्रणालीको हिस्सा पनि हो । बाँदरहरुले एक ठाउँबाट अर्को ठाउँमा बीउविजन वितरण गर्छन् । चितुवा, बाघ लगायत मांशाहारी जंगली जनावरहरुको आहारा बन्छन् । यदि बाँदरको संख्या ह्वातै घट्यो भने ती मांसाहारी जनावरहरू मानवमाथिको आक्रमणमा उत्रिन सक्ने सम्भावना समेत बढ्छ ।
पछिल्लो समय सडक विस्तारको क्रममा वनजंगल मासिंदा र खण्डीकरण हुँदा पनि बाँदरहरु आहाराको खोजीमा गाउँ पस्ने गरेका हुन सक्ने आँकलन गरिन्छ । बाँदर व्यवस्थापनका लागि सरकारले राष्ट्रिय तहमै वैज्ञानिक रुपमा अध्ययन गरी दीर्घकालीन नीति बनाउन आवश्यक देखिन्छ ।
वविता राई–९७६२७२५७४२

 

Ads

Ad

Ad

Copyright Reserved by NepBrand